एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा चेन्नाई सुपर किंग्सले प्लेअफको यात्रा तय गरेको छ । गएराति भएको खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै चेन्नाइ प्ले अफमा पुग्ने पहिलो टोली बनेको हो ।
१३५ रनको लक्ष्य चेन्नाइले २ बल बाँकी छदा पुरा गरेको थियो । कप्तान महेन्द्रसिंह धोनीले छक्का प्रहार गर्दै जित पक्का गरेका थिए । चेन्नाईका लागि ऋतुराज गायकवाडले ४५ तथा फाफ डु प्लेसीसले ४१ रनको योगदान गरे । जेसन होल्डरले एकै ओभरमा सुरेश रैना र डुप्लेसीसको विकेट लिएपछि खेल रोमाञ्चक बनेको थियो ।
टस हारेर पहिला व्याटिङ गरेको हैदरबादले ७ विकेट गुमाएर १३४ रन बनाएको थियो । चेन्नाइका जोश हेजलबुडले ३ विकेट लिँदा ड्वेन ब्रावोले २ विकेट लिए । हैदरवादका लागि ऋद्धिमान साहले ४४ रन बनाउँदा अभिषेक शर्मा र अब्दुल समदले समान १८–१८ रन बनाए ।
उता चेन्नाईका लागि गायकवाडले ४५ तथा प्लेसिसले ४१ रन बनाउँदा मोइन अलि र अम्बाती रायडूले समान १७–१७ रन बनाए । उक्त जितपछि चेन्नाईले ११ खेलबाट १८ अंक बनाउँदै प्लेअफको यात्र तय गर्दा हैदरावाद भने प्ले अफको दौडबाट बाहिरिएको छ ।


