असोज १५ काठमाडौं । एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको दोस्रो सेमिफाइनलमा पुलिसलाई हराउँदै न्यु डायमण्ड फाइनल प्रवेश गरेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै न्यु डायमण्ड फाइनल प्रवेश गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा न्यु डायमण्डले ३-२ सेटमा खेल आफ्नो पक्षमा पारेको हो ।
पहिलो सेटमा सुरुवातबाटै पुलिसले अग्रता बनायो । पहिलो सेट २५-१८ ले सहज जित हात पार्यो । त्यस्तै दोस्रो सेट न्यु डायमण्डले २५-१७ ले जित्दै सेट १-१ को स्थितिमा ल्यायो । तेस्रो सेट पुनः पुलिसले आफ्नो नियन्त्रणमा लियो । पुलिसले २-१ को अग्रता बनाउने क्रममा २५-२१ ले तेस्रो सेट जित्यो ।
चौथो सेट पुनः न्यु डायमण्डले २५-१७ ले जित्दै २-२ को बराबरी गर्यो । अन्तिम सेटमा न्यु डायमण्डले समालिएको खेल प्रदर्शन गर्दै सेट १५-१० ले जित्यो ।
उक्त जितसँगै उपाधिका लागि न्यु डायमण्डले एपीएफ क्लबको सामना गर्नेछ । आजै भएको पहिलो विभागीय प्रतिस्पर्धामा आर्मी क्लबलाई पराजित गर्दै एपीएफ लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको छ ।
यस्तै आज नै पुरुष तर्फको सेमिफाइनल खेल रहेको छ । पहिलो सेमिफाइनलमा हेल्प नेपाल र नेपाल पुलिस तथा दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


