काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न सुरु भएको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दलहरुसँग पटक पटक छलफल गरेर कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा रहेको बताए ।
उनले मलेसियासहित अन्य ६ वटा मुलुकबाट मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरेको बताएका हुन् । उनले सरकार र परराष्ट्र मन्त्रालयले सहयोग गरेको खण्डमा विदेशमा रहने नेपालीहरुको मतदाता नामावली संकलन पूर्ण हुने बताए ।
उनले भने, "हामीले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्नका निम्ति कम्तिमा मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरौँ भन्यौँ । राजनीतिक दलहरुसँग पटक पटक छलफल गरेका छौँ । कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा छ,’। ‘त्यति बेला हामीले कहाँ जाने भन्दा हामीले के निधो गर्यौँ भने मलेसिया र खाडीका ६ वटा मुलुकबाट प्रारम्भ गरौँ न त मतदाता दर्ता चाहीँ प्रारम्भ गरौँ भनेर हामीले एउटा अभ्यास प्रारम्भ गरेका थियौँ । यसमा विशेष गरेर सरकार र परराष्ट्र मन्त्रालयको सहयोग हामीलाई चाहिन्छ ।"
उनले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिने हो भने पहिलो प्राथमिकता वास्तविक नेपाली नागरिक र वास्तविक मतदाताहरु रहेको ठाउँलाई दिनुपर्ने बताए ।
उनले निर्वाचन आयोग अहिले प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्रै मतदानको अधिकार दिनुपर्छ भन्ने निस्कर्षमा रहेको पनि बताए ।
"आयोगको फोकस त्यतातिर भएको हुँदा आयोग दिग्भ्रमित छ की, कि ठिकै गर्दैैछ, त्यो पनि छलफल गर्नुहोला । वाह्य मतदान पनि कुन कुनमा दिने रु स्थानीय तह, प्रदेश, प्रतिनिधि सभा कहाँ कहाँ दिने त्यो पनि हामीले छलफल गरौँ । अहिले हाम्रो प्रयास के मात्रै छ भने दिइहाल्यो भनेपनि प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्रै जान सकिन्छ भन्ने निस्कर्षमा हामी छौँ,"उनले भने
.jpg)


