काठमाडौ। टि–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ।
गएराती भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले निराश बनाउँदै भारतले उपाधि चुमेको हो।
भारतले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले अर्धशतकीय इनिङस खेले । २७ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, क्वीनटन डी ककले ३१ बलमा ३९ रन जोडे । उनले ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रनको योगदान दिए । डेभिड मिलरले १७ बलमा २१ रन बनाए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो ।
भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। उनले ५९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। अक्षर पटेलले ३१ बलमा ४७ रन बनाउँदै भारतको रन उकासेका थिए। उनले ४ छक्का र एक चौका प्रहार गरेर रनआउट हुन पुगे।


