काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले मनसुनी वर्षाले देशभर बाढीपहिरो, डुबानलगायत विपद्बाट भएको धनजनको क्षतिको वास्तविक विवरणबारे जानकारी दिन सरकारसँग माग गरेका छन्।
शून्य समयमा बोल्दै सांसद शेरबहादुर कुँवरले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विवरण उपलब्ध गराउन सरकारसँग माग गरे। मनसुनी विपद्का कारण घरबास गुमाएकालाई पुनर्वासको व्यवस्थासहित राहत उपलब्ध गराउन, घाइतेलाई शीघ्र उपचार गराउन, हराइरहेकाको खोजी तीव्र पार्न र जोखिमका रहेका बस्तीको स्थानान्तरणका लागि सरकारसग माग गरेका हुन्।
शून्य समयमा बोल्ने अधिकांस सांसदहरुले प्राकृतिक विपद् व्यवस्थापन, राहत तथा उद्धारका कार्यमा शीघ्रता दिन सरकारलाई आग्रह गरे । बाढी, पहिराका कारण देशभरका राजमार्ग अवरुद्ध भएको विषय संसद्मा उठाउँदै सांसदहरुले सहज यातायात आवागमनको व्यवस्था गर्न माग गरेका हुुने । उनिहरुले बाढी, पहिरो र डुबानको जोखिम भएका स्थान पहिचान गरी त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनुपर्ने, आकस्मिक उपचारका लागि अस्पताल तयार पारिनुपर्ने, उद्धारका लागि हवाई एम्बुलेन्सको व्यवस्था गर्नुपर्नेलगायत माग गरे ।
सांसदहरु डा स्वर्णिम वाग्ले र सन्तोष परियारले अहिलेको सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई पक्राउ गरेपछि अरु व्यक्ति पनि पक्राउपर्ने डरले सत्तासमीकरण फेरबदल चलेको आरोप लगाए ।
सांसद सम्झना थपलियाले हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा जिल्ला जोड्ने कमला नदीको पुल उपयोगमा नआउँदै भासिएको सदनलाई जानकारी गराउँदै गलत डिजाइन र कमसल निर्माण सामग्रीका कारण भासिएको बताइन् । उनले त्यसबारे अध्ययन गरी दोषीलाई कारबाहीको माग गरिन् ।
.jpg)


