एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । शनिबार साँझ युनाइटेडको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा सुरुवाती अग्रता भने घरेलु टोली युनाइटेडले बनाएको थियो । उसका लागि खेलको ४३औं मिनेटमा एन्टोनी मार्शलले गोल गर्दै पहिलो हाफभरि १-० गोलको अग्रता दिलाए ।
पहिलो हाफमा १-० गोलले पछि परेको पाहुना टोली एभर्टनको लागि खेलको ६५औं मिनेटमा एन्द्रोस टाउनसेन्टले गोल गर्दै एभरटनलाई १-१ गोलको बराबरीमा ल्याए ।
बाँकी समय दुबै टोलीले गोलका लागि अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । त्यस्तै दोस्रो खेलको ५८औं मिनेटमा मैदान प्रवेश गरेका क्रिष्टियानो रोनाल्डोले खासै प्रभाव बनाउन सकेनन् । खेलको ८५ मिनेटमा एभर्टनले गोल गरे पनि भारले त्यसलाई मान्यता दिएन ।
उक्त बराबरीसँगै युनाइटेड ७ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । बराबरीसँगै युनाइटेडले शीर्षस्थानमा पुग्ने मौका समेत गुमायो । एभर्टन १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।


