काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरोलगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयकाअनुसार गत २८ जेठदेखि बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ ।
बाढीपहिरोमा परेर एक सय ६ जना घाइते भएका छन् भने हालसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता छन् । उक्त समयमा बाढीपहिरोका कारण तीन सय ८४ पशु चौपायाको क्षति भएको छ । यस्तै, एक सय ३९ घर र ५४ गोठमा क्षति पुगे छ ।
वर्षा र पहिरोका कारण आठ सय ५८ परिवार विस्थापित भएका छन् । बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार चार सय २८ प्रहरी परिचालन गरिएको छ । मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ ।
यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । देशभर दुई हजार नौ सय ५४ परिवार विस्थापित भएका छन् । उक्त घटनामा १० करोड ७० लाख ४० हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।
.jpg)


