काठमाडौं । चितवनको सिमलतालमा त्रिशूली नदीमा खसेर वेपत्ता भएका दुई वटा बस र यात्रुहरुको खोजीका लागि आजदेखि भारतबाट आएको विपद उद्धार टोलीले खोजीकार्य सुरु गरेको छ ।
अत्याधुनिक सोनार क्यामरा लगायतका उपकरणसहित आएको १२ सदस्यीय भारतीय टोलीले बिहान १० बजेदेखि खोजी सुरु गरेको हो ।
नेपाल सरकारको आग्रहमा भारतीय नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)को टोली शनिबार चितवन आएको थियो । सो टोलीले शनिबार जिल्ला प्रशासन कार्यालय चितवन र कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयमा घटना विवरणबारे जानकारी लिएपछी आज बिहानदेखि खोजी कार्यमा खटिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भारतीय टोली एक सातासम्म नेपालमा रहने छ ।
असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बस चितवनको सिमलतालमा बिहान करिब साढे ३ बजे खसेको पहिरोमा परेका थिए ।
दुवै बसमा सवार ६५ जनामध्ये तीन जना पौडिएर सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । हालसम्म २५ जनाको शव फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्रु र दुईवटै बस बेपत्ता छन् ।
.jpg)


