बिहीबार , कार्तिक २० गते २०८३
images
images

किन विशेष छ साउनको सोमबार ?

एक्सप्रेस पाना
श्रावण ७, २०८१ सोमबार
  • 265
    SHARES
  • किन विशेष छ साउनको सोमबार ?

    काठमाडौं । आज साउनको पहिलो सोमबार । देशभरका शिवालयहरुमा भक्तजनहरुको घुइचो लागेको छ । साउन शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरे बराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ ।साउन महिनालाई भगवान शिवको महिनाको रुपमा लिने गरीन्छ । साउन महिनाको सोमबार व्रत बसेर भगवान शिवको पुजाआराधाना गर्नाले आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वास रहि आएको छ । यस बर्ष साउनमा चार वटा सोमबार परेको छ ।

    images

    साउन महिनामा महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगाएर प्रत्यक सोमबारका दिन भगवान् शिवको पूजा गरी व्रत बस्ने गर्छन् । यो व्रत विवाहित महिला आफ्नो घरपरिवार र श्रीमान्को स्वास्थ्यलाभको कामना गर्दै व्रत बस्ने गर्छन् भने अविवाहित महिला राम्रो श्रीमान् तथा शिवजीजस्तो वरपाउँ भनि र आफ्नो परिवारको सुख९शान्तिको कामना गर्दै व्रत बस्ने गर्छन् ।

    साउनको सोमबारको दिन देशभरलगायत काठमाडौको पशुपतिनाथ,डोलेश्वर महादेव गोकर्णेश्वर महादेव, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो लाग्ने गरेको छ । 

    images

    साउनको सोमबारको व्रत किन बस्ने ?

    हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ । साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ । हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ ।

    साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ ।

    अविवाहित युवतीको लागि यो व्रत निकै लाभदायक हुन्छ । १६ वटा सोमवार शिवको व्रत बसेमा उत्तम वर प्राप्त हुने पुराणमा उल्लेख छ । जसले शुद्ध अन्तःकरणले शिवको उपासना गर्दछ, उसले शिवलोकमा शिवसायुज्य प्राप्त गर्दछ ।

    कसरी बस्ने व्रत ?
    साउनको सोमवार दिनभर निराहार भएर व्रत बस्ने गरिन्छ । बिहान स्नानादि नित्य कर्म सकेर व्रतको संकल्प गर्नुपर्छ । त्यसपछि घरमै अथवा शिवमन्दिरमा गएर गंगाजल, बेलपत्र, सुपारी, फूल, धतुरो, भाङ आदिले भगवान् शिवको पूजा गरिन्छ । विधिपूर्वक पूजा सम्पन्न गरेपछि व्रत कथा सुन्ने चलन पनि छ । साथै, व्रत बस्नेले शिवको मन्त्र जप पनि गर्दछन् । साउनको सोमवार व्रत बस्नाले वर्षभरिको सोमवार व्रत बसेको पुण्य मिल्ने पुराणहरुमा उल्लेख छ । 

    व्रत बसेकाले दिनको तेस्रो प्रहर सकेपछि अथवा साँझ शिवको आरति गरेपछि भोजन गर्ने परम्परा छ । यसरी साउनको पहिलोदेखि अन्तिम सोमवारसम्म व्रतको पालना गर्न सकिन्छ ।