काठमाडौं । देशका विभिन्न स्थानमा गएरातिदेखि सामान्यदृखी भारी वर्षा भइरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ ।
देशभर साधारणतया बदली रहँदा कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । झापा, मोरङ, सुनसरी, सप्तरी र मोरङका केही स्थानमा भारी वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सातवटै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । विभागले राति देशभर साधारणतया बदली रहने जनाएको छ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।
मकवानपुर, झापा, सप्तरी, मोरङ, सुनसरीका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ ।
मकवानपुरको बकैया नदी जुरेलीबजार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ । जलसतह बढ्दो क्रममा रहेको छ । बकैया नदीको बारासम्मकै नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेहरूले बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सप्तरी जिल्लाको खाडो नदी, पूर्व–पश्चिम राजमार्ग जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ । वर्षा भएरहेको र जलसतह बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेहरूलाई बिहान १० बजेसम्म उच्च सावधानी अपनाउन विभागको आग्रह छ ।
थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने बिरिङ, चिस्याङ, लोहन्द्रा, केसलिया नदी र अन्य स–साना खोलामा आकास्मिक बहावको जोखिम छ । त्यसैले नदी तटीय क्षेत्रमा रहनेले बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ ।
.jpg)


