बिहीबार , कार्तिक २० गते २०८३
images
images

आज नागपञ्चमी:घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजार्चना गरी मनाइँदै

एक्सप्रेस पाना
श्रावण २५, २०८१ शुक्रबार
  • 281
    SHARES
  • आज नागपञ्चमी:घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजार्चना गरी मनाइँदै

    काठमाडौं । आज नागपञ्चमी । घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजार्चना गरी मनाइँदै छ । 

    images

    प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व  परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजार्चना गरी मनाइँने गरीन्छ । 

     यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।
     
    नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा छ । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।
     
    प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परा छ । 
     
    काठमाडौंका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ ।
     
    नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मानिन्छ ।
     
    श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसंग विभिन्न पुराणमा वर्णन गरिएको छ । विष्णुको नवौंँ अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थंकरहरूको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।
     
    जुन घरमा नागको पूजा हुन्छ, त्यो घरमा लक्ष्मीको वास हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ ।
     
    नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोकट र शङ्ख गरी अष्टनागलाई आजको दिन (ब्राह्मण) पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।
     
     

    images