काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय नजिकै दरबारमार्गमा रहेको महेन्द्र शालिक–काठमाडौं प्लाजा जोड्ने सडक भासिएको छ ।
टुकुचा खोलामाथिको एकतर्फी सडकमा ठूलो भ्वाङ परेपछि सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।
महानगरको कार्यालय नजिकै सडक भासिएपछि मेयर बालेन्द्र शाहले समाजिक सञ्जालमा सडकमा भ्वाङ परेको भिडियो सार्वजनिक गर्दै अझै केही घरहरु टुकुचाको चपेटामा पर्दै जाने बताएका छन् ।
उनले महानगरले जोखिम देखेर नै केही समय पहिला खोला खोल्न सुरु गरेको उल्लेख गर्दै अदालती कारणले उक्त कार्य केही रोकिएको र टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानूनबमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका उनले उल्लेख गरेका छन् ।
सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । उनले खोलामाथी घर होइन पुल बनाउनुपर्ने बताएका छन् । ‘सबैलाई थाहा हुनैपर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन,’– उनले भनेका छन् ।

.jpg)


