काठमाडौं । नेपालले साफ यु–२० च्याम्पियनसिपमा फाइनल प्रवेश गर्न भुटानको सामना गर्ने भएको छ।
समूह ‘बी’ को शुक्रवार भएको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेपछि नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्द्वी पाएको हो।
नेपाल समूह ए को दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । भुटान समूह बी को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । नेपाल र भुटानबीचको सेमिफाइनल खेल आइतवार हुनेछ ।
नेपालले श्रीलंकालाई १–० र बंगलादेशलाई २–१ ले पराजित गर्दै ६ अंक जोड्यो। बंगलादेशले भने श्रीलंकालाई २–० ले हराउन सफल भयो। समूह ए मा साविक उपविजेता बंगलादेश समूह चरणमा तीन अंकमै खुम्चियो।अर्को टोली श्रीलंका भने अंकविहीन हुँदै घर फर्किसकेको छ। समूह ‘बी’ मा भने भारत विजेता बन्यो। भारत दुवै खेल जित्दै शीर्ष स्थानमा रह्यो।
भुटान तीन अंकसहित समूह उपविजेता बन्यो। माल्दिभ्सले भने अंकविहीन रह्यो। समूह बीको विजेता भारतले अब सेमिफाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।


