असोज १८ काठमाडौं । पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेटमा काठमाडौं किग्स–११ लाई १४ रनले पराजित गरेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा वर्षाले खेल प्रभावित भएपछि पोखराले ‘डि एल मेथर्ड’को आधारमा काठमाडौंलाई १४ रनले पराजित गरेको हो ।
१८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको पोखराले १५ ओभरमा ५ विकेट गुमाएर १४२ रन बनाउँदा भारी पानी परेको थियो । त्यसपछि खेलको छिनोफानो ‘डि एल मेथर्ड’को आधारमा भएको थियो ।
पोखराको लागि सहन अराच्चीगेले सर्वाधिक ४३ रन बनाउँदा विवेक यादवले अविजित ४१ रन बनाए । यस्तै लोकेश बलमे १८ तथा रिचार्ड लेभीले १७ रन बनाए ।
काठमाडौं लागि जितेन्द्र मुखिया र गुल्शन झाले समान२ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १ विकेट लिएका थिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनाएको थियो ।
आज नै भएको पहिलो खेलमा भैरहवाले चितवनलाई ६ विकेटले पराजित गर्यो । जारी इपिएलमा चितवन पहिलो पटक पराजित भएको हो । यसका बाबजुद पनि चितवन यसअघि नै प्लेअफमा पुगिसकेको छ । यस्तै भैरहवा र पोखरा राईनोज पनि प्लेअफमा पुगिसकेका छन् । अब, प्लेअफमा पुग्न एक टोलीको टुंगो लाग्न बाँकी छ ।
काठमाडौले आजको खेल हारे पनि उसलाई अब अर्को खेल जित्नै पर्ने दबाब छ । यदि काठमाडौं पराजित भए ललितपुर प्याट्रियट्स प्लेअफमा स्थान बनाउनेछ ।
जारी ईपीएलमा ५ खेल खेलेको चितवनको ८ अंक छ । समान ४ खेलबाट भैरहवाको ६ अंक रहँदा पोखरा राईनोजको ४ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ । ५ खेलबाट ३ अंक बनाएको ललितपुर चौथो स्थानमा रहँदा ४ खेल खेलेको काठमाडौं २ अंकसहित पाँचौँ तथा ५ खेल खेलको विराटनगर २ अंकसहित तालिकाको पुछारमा छ ।


