असोज १८ काठमाडौं । माल्दिभ्समा जारी दक्षिण एसियाली राष्ट्रको प्रतिष्ठित फूटबल प्रतियोगिता साफ च्याम्पियनसिप-२०२१ को आफ्नो पहिलो खेलमा उपाधिको दावेदार टोली भारत बराबरीमा रोकिएको छ ।
सोमबार भएको खेलमा भारत बंगलादेशसँग १-१ गोलको बराबरीमा रोकिएको हो । खेलमा सुरुवाती अग्रता भने भारतले बनाएको थियो । उसका लागि कप्तान सुनिल क्षेत्रीले गोल गरेका थिए । उनले पहिलो हाफको खेलको २६औं मिनेटमा गोल गरि सुरुवाती अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको ५४औं मिनेटमा बंगलादेशका विश्वनाथ घोषले रातो कार्ड खाएका थिए । १० खेलाडीमा सीमित बनेको बंगलादेशको लागि खेलको ७४औं मिनेटमा यासिन अराफाले गोल गरि खेल १/१ गोलको बराबरी अबस्थामा ल्याए ।
त्यसपछि बाँकी समय थप गोल नहुँदा दुबै टोलीले १/१ अंक बाँडे । उक्त बराबरीसँगै बंगलादेश २ खेलबाट ४ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ । यता भारत भने एक खेलबाट एक अंकका साथ तेस्रो स्थानमा रहेको छ ।


