काठमाडौं । आजदेखी सिनेमा हलमा दुई नयाँ चलचित्रहरु ‘रावायण’ र ‘देवी’ प्रदर्शनमा आएका छन् ।
तीजको अवसर पारेर यी दुई नयाँ चलचित्रहरु प्रदर्शनमा आएका हुन् । सुदर्शन थापाका निर्देशनमा बनेको चलचित्र ‘रावायण’लाई पहिलो दिन ४५ शो दिएको छ । ‘रावायण’ मा अभिनेता पल शाह दोहोरो भूमिकामा छन् । उनले पहिलो पटक कुनै पनि चलचित्रमा दोहोरो भूमिका निर्वाह गरेका हुन् ।
चलचित्रमा पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, योगेश भण्डारी, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, निमा पाण्डे आदि कलाकारले अभिनय गरेका छन् ।
अभिनेत्री पूजा शर्मा यो चलचित्रकी निर्मात्री हुन् । यो चलचित्रमा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ । यो चलचित्रको वितरण आरआर फिल्मसले गरेको छ भने डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहेको छ ।
त्यसैगरी संजोग राई चलचित्र ‘देवी’ का निर्देशक हुन् । क्राइम–थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘देवी’ मा शिल्पा मास्के गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, ध्रुव कोइराला, विशाल पहारी, निरिक्षा घतानी, प्रभाकर न्यौपाने, निरु खड्का, जीवनजंग खड्कालगायतको अभिनय छ । यो फिल्ममा गौरव प्रहरी र शिल्पा पत्रकारकोे भूमिकामा प्रस्तुत भएका छन् ।
‘देवी’ ले क्यूएफएक्स चेनमा १६ शो पाएको छ । काठमाडौंमा सात र बाहिर नौ शो दिएको छ । यी दुबै फिल्मको शोमा आज केही थपघट भने हुनसक्ने बताइन्छ । आइएनआई चेनमा ‘रावायण’ ले नौ शो पाउँदा ‘देवी’ ले तीन शो पाएको छ । बिएसआर मुभिज, बिग मुभिज, वान सिनेमाजलगायतमा पनि बुकिङ खुलाइएको छ ।
जोएल फ्रोमको छायांकन रहेको यो चलचित्रको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । यो चलचित्रमा सन्जेन थापाको द्वन्द निर्देशन छ । एक्जिबिट स्टुडियोले ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्मससँग सहकार्य गरेको चलचित्रमा रेमन गुरुङ, नारायण राई र सञ्जोग राई निर्मातामा छन् भने जावेद खान कार्यकारी निर्माता छन् । त्यस्तै, सह–निर्मातामा शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा छन् ।


