काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।
महिलामा रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ ।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । आज काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ ।
धार्मिक महत्व
शास्त्रअनुसार १२ महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुन सक्छ । उक्त पापबाट मूक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन तोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरू छन । तर मूलत ३६५ वटा दतिवनका डाँठ टोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अङ्गहरू शुद्ध गर्नु, चाल्नीमा गनौती (गनिएका तिलचामल र जौ) राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा शुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ । ३६५ वटा दतिवन दिनको एउटा ३६५ दिनसम्म टोकेर तीजमा पञ्चमीको दिन खोलामा बगायो भने पनि रजस्वला हुँदाको समयमा भएको पापबाट मोक्ष भइने पनि विश्वाश छ । वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो र यसलाई बर्तमा परिणत भएको भए पनि फलफूल ग्रहण गरेर दिनभरि बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ ।
.jpg)


