काठमाडौं । आज ऋषिपञ्चमी पर्वका अवसरमा राजधानीका वाग्मती, विष्णुमती, रुद्रमती, मनमतीलगायत नदी किनारका मुहानस्थलमा स्नान गर्ने महिलाहरुको भीड लागेको छ ।
महिलाहरुले वर्षमा एकपटक आजका दिनमा सकेसम्म नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्नुपर्ने शास्त्रीय विधि रहेको छ ।
तुलनात्मक रुपमा वाग्मती सफा रहेको गोकर्ण ब्यारेजभन्दा माथिको भागमा ऋषिपञ्चमीका अवसरमा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका महिलाहरुको समूहले स्नान गर्न भीड लागेको छ । गोकर्णबाट सुन्दरीजलसम्मको करिब सात किमी नदी किनारको दायाँ बायाँ दुई नगरपालिकाका हजारौँ महिलाले आज ऋषिपञ्चमीका अवसरमा स्नान गरिरहेका छन् ।
स्नानपछि आज भाद्र शुक्ल पञ्चमीमा मनाइने ऋषि पञ्चमीमा नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गर्छन् । स्नान गरेर मध्याह्नकालमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्ने विधि रहेको छ ।
आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।
रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।
आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । ऋषिपञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आराधनाका लागि श्रद्धालु महिला भक्तजनको भीड लागेको छ ।
.jpg)


