सोमबार, भाद्र २९ गते २०८३
images

‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड :चार विधाको मनोनयन सार्वजनिक

एक्सप्रेस पाना
भाद्र २४, २०८१ सोमबार
  • 256
    SHARES
  • ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड :चार विधाको मनोनयन सार्वजनिक

    काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०८०’ को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

    images

    सोमबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आयोजित पत्रकार सम्मेलनमार्फ २१औं संस्करणको अवार्डको चार विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

    चार विधातर्फ उत्कृष्ट पाँच÷पाँच खेलाडी र प्रशिक्षक मनोनयनमा परेका हुन् । उक्त अवार्डका लागि पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेल, करातेका मोहम्मद शेख आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् ।

    images

    त्यस्तै महिलातर्फ करातेकी एरिका गुरुङ, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशी मनोनयनमा परेका छन् ।

    विसं २०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र नतिजाका आधारमा उनीहरुलाई मनोनयनमा समावेश गरिएको हो । आयोजक मञ्चका महासचिव प्रज्ज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो ।

    यसैगरी युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्त पाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) छन् ।

    यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) मनोनयनमा परेका छन् ।

    अवार्ड कार्यक्रम यही भदौ २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ ।

    छनोट समितिका संयोजक ओलीले यस वर्ष धेरै खेलाडी मनोनयनका लागि दाबेदार रहेकाले उत्कृष्ट पाँच छनोट गर्न कठिन भएको उल्लेख गर्दै मनोनयनमा समावेश सबै खेलाडी आफ्नो विजेताजस्तै रहेको प्रतिक्रिया दिए ।

    यसपटक वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेताले पल्सर एनएस २०० मोटरसाइकल प्राप्त गर्नेछन् । पिपुल्स च्वाइस विधाको विजेताले भने पल्सर एनएस ४०० मोटर बाइक जित्नेछन् । अन्य विधाका विजेतालाई जनही रु एक लाख र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । 

  • सम्बन्धित विषय:

  • # एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड