काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ खेलअन्तर्गत तेस्रो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ ।
आइतबार राति भएको खेलमा नेपालले आयोजक क्यानडासँग ५ विकेटले हारेको हो । नेपाले प्रस्तुत गरेको १८१ रनको लक्ष्य क्यानडाले ४८ बल अगावै मात्र ५ विकेटको क्षतिमा भेट्टायो । क्यानडाका लागि नवनित धालिवालले सर्वाधिक ८७ रन जोडे । त्यस क्रममा उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाले ४६.१ ओभरमा सबै विकेट गुमाएर मात्र १८१ रन जोडेको थियो । खेलमा नेपालको सुरुआत राम्रो थिएन । पाँचौ ओभरसम्म आसिफ शेख मात्र २ रन बनाएर आउट भएका थिए भने सातौं ओभरमा आएका भीम सार्कीले पनि ४ रनभन्दा बढी बनाउन सकेनन् ।
त्यसैगरी कप्तान रोहित पौडेल रन आउटभएका थिए । अलिन साह मात्र १ रन बनाएर आउट भए । आरिफ शेख र गुल्सन झाले नेपालको पारी सम्हाल्न प्रयास गरे पनि शेखले १० रन र झाले ३४ रन मात्र जोड्न सके ।
त्यसपछि सोमपाल कामी र सन्दीप लामिछानले अर्धसतकीय साझेदारी गरे । लामिछाने अर्धसतक बनाउन १ रनले चुके । सबैभन्दा अन्तिममा आएका करण केसीले २४ रन बनाउन सफल भए ।


