काठमाडौं । सरकारले चाडपर्व लक्षित गरी अग्रिम टिकट बुकिङ आजदेखि खुला गरेको छ ।
काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो ।
सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । बिहिबारदेखी काठमाडौँसहित देशभर अविरल वर्षा भएकाले बिहानैदेखि छाता ओढेर यात्रु टिकट काट्न लाइनमा बसेका छन् ।
अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।
प्रत्येक वर्ष दसैँ मनाउनका लागि राजधानी काठमाडौँबाट २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् । सरकारले यस बर्ष भने १५ देखी १८ लाख मानिसहरुले उपत्यका छाड्ने आकलन गरेको छ । लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारीसाधनको टिकट भने घटस्थापनाबाट खुल्ला गरिने बताइएको छ ।
.jpg)


