काठमाडौं । सवारी चालकले ट्राफिक नियम उल्लङ्घन गरेबापत नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबारदेखि सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ‘ई–चलान’ (डिजिटल चिट) दिने र तत्कालै नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।
सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था गरिएसँगै सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुँदै आएको झन्झट अब अन्त्य हुने विश्वास गरिएको छ।
नागरिक एपमा ट्राफिक नियम उल्लङ्घन कोलममा कसुर र जरिवाना रकमसहितको ‘डिजिटल चिट’को विवरण र जरिवाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था गरिएको छ। यसबाट सवारी चालकले तत्कालै ‘डिजिटल वालेट’मार्फत जरिवाना रकम भुक्तानी गर्न सक्नेछन्।
सवारी चालक अनुमतिका लागि ‘ट्रायल’ पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ। यसबाट सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ।
प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट व्यवस्था कार्यान्वयनमा ल्याइनेछ। डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ।
.jpg)


