काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अगाडि एकदिवसीय अभ्यास खेलमा अमेरिकाको ‘ए’ टोलीसँग नेपाल ४ विकेटले पराजित भएको छ ।
यसअघि अमेरिकासँगको तीन खेलको टी–२० शृङ्खला नेपालले क्लिन स्वीप गरे पनि नेपालले चौथो खेल हारेको हो ।
गतरातिको खेलमा नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका ए ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा गरेको थियो ।
अमेरिका ए का नितेश रेड्डीले २९ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल २५ ओभर ३ बलमा ८० रनमा अलआउट भयो । नेपालका कुशल मल्लले १८, देव खनालले १२, भीम सार्कीले १० रन बनाए ।


