काठमाडौं । नेपालले आज देखी बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ ।
नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले दिउँसो १२ः ४५ बजे संयुक्त रूपमा भर्चुअल उद्घाटन गरी बंगलादेश विद्युत निर्यात सुरु गर्नेछन् ।
गत असोज १७ मा नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले आज ४० मेगावाट बिजुली बंगलादेश पठाउन लागेको हो।
यसअघि भारतले सम्झौताबमोजिम स्वीकृति नदिँदा बिजुली बंगलादेश निर्यात सुरु गर्न सकिएको थिएन। तर अहिले भारतले स्वीकृति दिइसकेकाले नेपालले बंगलादेश बिजुली पठाउन लागेको छ ।
शुक्रबार करिब ११ घण्टा बिजुली बिक्री गर्दा प्राधिकरणले ३८ लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी गर्ने छ । प्राधिकरणका अनुसार २५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बेच्न लागिएको हो।
आज एकदिन बिजुली बेचेपछि अब एकैचोटि अर्को वर्ष जुन १५ मा बंगलादेश विद्युत् निर्यात गरिनेछ। त्यसपछि भने बिजुली निर्यात नियमित हुने बताइएको छ । बंगलादेशलाई बिजुली बेच्दा देशलाई प्रतिमहिना झन्डै ३३ करोड आम्दानी हुने विद्युत् प्राधिकरणले जनाएको छ।
.jpg)


