काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ एसिया कपमा सहभागि हुने नेपाली टोलीलाई बिदाइ गरेको छ ।
मंगलबार एक कार्यक्रमबीच क्यानले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीयको नेपाली टोलीलाई बिदाइ गरेको हो ।
केही दिनअघि भारतको कनार्टक यू–१९ सँगको पाँच खेलको सिरिजको प्रदर्शनका आधारमा अन्तिम टोली तयार गरिएको हो । उक्त सिरिज नेपाली टोलीले ३–२ ले जितेको थियो ।
क्यानले शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धीरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
नेपाली टोलीमा हेमन्त धामी, अर्जुन कुमाल आकाश त्रिपाठी, उत्तम रङ्गु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अप्राजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार रहेका छन् ।
५० ओभरको खेल एसिया कप मंसिर १४ देखि २३ गतेसम्म हुनेछ । मंसिर १४ गते नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्नेछ । दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्ने नेपालले अन्तिम खेल मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।
प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै समूह ‘बी’मा रहेका छन् भने समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र यूएई रहेका छन् । फाइनल मंसिर २३ गते हुनेछ ।


