काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्समाथी जनकपुर बोल्ट्सले शानदार जित निकालेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित गर्दै जित निकालेको हो ।
१२८ रनको लक्ष्यमा पाएको जनकपुरले १५.३ ओभरमा २ विकेटको गुमाउँदै पूरा गर्यो । जनकपुरका लागि लाहिरु मिलन्थाले उत्कृष्ट अर्धशतक पारी खेले । उनले ५३ बलमा ७५ रन बनाउँदै अविजित रहे ।
यसअघि पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको थियो ।
विराटनगरका लागि ओपनर मार्टिन गप्टिलले ५५ रन बनाए । सो क्रममा उनले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए । यो एनपीएलको पहिलो अर्धशतक हो । अर्का ओपनर लोकेश बमले ५ रन बनाउँदा तेस्रो नम्बरमा आएका अकिब इलियासले १५ रन बनाए । कप्तान सन्दीप लामिछानेले ७ रन जोडे । अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।


