काठमाडौं । यू–१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।
आइतवार युएईमा जारी यु १९ एसिया कपको दोस्रो खेलमा नेपनल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ४२ रनको लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशका लागि ओपनर जबार अबाररले सवौधिक ५९ रन बनाए । उनले ६५ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका थिए ।
नेपालका लागि युवराज खत्रीले ४ तथा कप्तान हेमन्तले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १ सय ४१ रन बनाउँदै अल आउट भएको थियो ।
नेपालका लागि ओपनर आकाश त्रिपाठीले ७७ बलमा सर्वाधिक ४३ बनाए । उत्तम थापा र अभिषेक तिवारीले समान २९ रन जोडे । नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बंगलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान २ विकेट लिए । युएईमा जारी यु १९ एसिया कपमा बंगलादेशविरुद्धको खेलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिलो खेलमा श्रीलंकासँग पराजित नेपालको यो लगातार दोस्रो हार हो ।


