बिहीबार , कार्तिक २० गते २०८३
images
images

आज विवाह पञ्चमी:जानकी मन्दिरमा राम–सीताको विवाह गरिंदै

एक्सप्रेस पाना
मंसिर २१, २०८१ शुक्रबार
  • 240
    SHARES
  • आज विवाह पञ्चमी:जानकी मन्दिरमा राम–सीताको विवाह गरिंदै

    काठमाडौं । आज मार्गशीर्ष शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमी। ​त्रेतायुगमा जनकनन्दिनी सीता र मर्यादापुरुष रामको विवाह भएको सम्झनामा शुक्रबार यो पर्व मनाइँदै छ।

    images

    मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा यो पर्व विशेष महत्त्वका साथ मनाइन्छ। मिथिलावासीले यो पर्वलाई महोत्सवकै रूपमा मनाउने गरेका छन्।​ 

    त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुष अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए। शिवधनुष भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो।

    images

    सीतालाई छोरी–बहिनी मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि विवाह समारोहसम्ममा सहभागी हुन्छन्।

    महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार हुन्छ। पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पु¥याइन्छ। त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ।​

    रंगभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ। त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुन्छन्।

    पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रंगभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ। महोत्सव पहिले एक महिनासम्म भव्य रूपमा मनाउने गरिएकामा हाल केही दिन मात्र मनाइन्छ।