एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपको छनौट खेलअन्तर्गत दक्षिण अमेरिकी छनौट खेलमा शुक्रबार बिहान पाँच खेल हुँदै छन् । जसमा १० टोली प्रतिस्पर्धामा छन् ।
नेपाली समयअनुसार बिहान ४ः४५ बजे अर्जेन्टिनाले पराग्वेसँग खेल्दै छ । यो खेल पराग्वेको घरेलु मैदानमा हुनेछ । आठ खेलमा १८ अङ्क जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ । पराग्वे भने ११ अङ्कका साथ छैटौँ स्थानमा छ । उसले नौ खेल खेलेको छ ।
यस्तै, ब्राजिलले बिहान ५ः४५ हुने खेलमा भेनेज्वलासँग खेल्नेछ । भेनेज्वलामा हुने उक्त खेलमा ब्राजिल आफ्नो विजयी यात्रा कायमै राख्ने योजनामा छ । आठ खेलेको ब्राजिल २४ अङ्कका साथ शीर्ष स्थानमा छ ।
उरुग्वेले घरेलु मैदानमा बिहान ४ः४५ बजे कोलम्बियाको सामना गर्ने छ । उरुग्वे १५ अङ्कका साथ तेस्रो स्थानमा रहँदा कोलम्यिा १३ अङ्कसहित पाँचौँ स्थानमा छ । त्यसबाहेक बिहान ६ः४५ बजे पेरु र चिलीले खेल्दा ६ः१५ बजे बोलिभिया र इक्वाडरले प्रतिस्पर्धा गर्ने छन् ।


