काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सलाई हराउँदै चितवन राइनोज विजयी भएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा जनकपुरलाई ३२ रनले पराजित गरेको हो । जितसँगै चितवन तेस्रो स्थानमा उक्लिएको छ ।
१८१ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको जनकपुरले १८ ओभरमा अलआउट हुँदै १४८ रन बनायो । जनकपुरका लागि जेम्स निशामले विस्फोटक अर्धशतकीय पारी खेले । उनले ६५ रन बनाए ।
आसिफ शेखले २३ रन बनाउँदा शुभ कंशकारले १५ र मोहम्मद मोहसिनले १३ रन बनाए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।
चितवनका लागि कप्तान कुशल मल्लले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ७२ रन बनाए भने रवि बोपाराले ४४ रन बनाउँदा हसन इसाखिलले २८ र सन्तोष कार्कीले १४ रन बनाए ।
जनकपुरका लागि ललित राजवंशीले दुई तथा जेम्स निसम, हर्ष थाकेर र मोहम्मद मोहसिनले एक एक विकेट लिए ।


