काठमाडौं । एसीसी यू १९ महिला एसिया कपमा सुपर ४ को अन्तिम खेलमा नेपाल बंगलादेशसंग पराजित भएको छ ।
शुक्रबार मलेसियाको बायुमस ओभलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको खेलमा बंगलादेशले नेपाललाई ९ विकेटले हराएको हो । ५४ रनको लक्ष्य पछाएको बंगलादेशले दशौं ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
जितसंगै बंगलादेश फाइनल प्रवेश गरेको छ भने नेपाल एसिया कपमा तेस्रो स्थानमा छ ।
बंगालदेशका लागि ओपनर फाहोमिदा चोयाले ३ चौकासहित नटआउट २६ रन जोडिन् । अर्की ओपनर मोसमत इभाले २१ बलमा १ छक्कासहित १८ रनको योगदान दिइन् ।
त्यसअघि टस हारेपछि पहिलो ब्याटिङ गरेको नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको थियो ।
नेपालका लागि सावित्री धामीले ११ रन बनाउँदा कप्तान पूजा महतोले ९, एलिसाकुमारी यादवले ८ र ओपनर सना प्रविनले ४ रन जोडे । अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।


