काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट्सले एनपीएलको उपाधी हात पारेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको रोमाञ्चक फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचालेको हो ।
१८५ रनको लक्ष्य पछाएको जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
जनकपुरको जितमा ओपनर लाहिरु मिलान्था नायक बने । उनले ४९ बलमा ८७ रन बनाए । सो क्रममा उनले ९ चौका र ४ छक्का प्रहार गरे । कप्तान आसिफ शेख ३३ रन बनाए भने मोहम्मद मोहसिन ९ रनमा बनाए ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेइन, इशान पाण्डे र सैफ जैबले एकरएक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।
सुदूरपश्चिमका लागि सैफ जैबले ४३ बलमा ६९ रन बनाए भने विनोद भण्डारीले ४१ रनको योगदान गरे भण्डारी र जैबले उत्कृष्ट सुरुवात गरेका थिए ।
कप्तान दीपेन्द्रसिंह ऐरी ९, हरमित सिंहले १४, ब्राण्डन म्याकमुलनले १४, स्कट कुगेलेइनले १३ रन बनाए ।
जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले तीन,तीन तथा ललित राजवंशी र जेम्स निशमले १–१ विकेट लिए ।


