काठमाडौं । एसिसी यु–१९महिला एसिया कप खेलेर नेपाली टोली आइतबार स्वदेश फर्किएको छ ।
स्वदेश फर्किएको नेपाली टोलीलाई आइतबार त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए ।
शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग नौ विकेट पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।
स्वदेश फर्किएपछि महिला यु–१९ नेपाली टोलीकी कप्तान पूजा महतोले एसिया कपमा तेस्रो स्थान हासिल गर्दा खुसी लागेको बताइन् । उनले खेलहरू राम्रो भइरहँदा वर्षाका कारण लय समात्न समस्या भएको उल्लेख गरिन् ।
नेपालले समूह ‘बी’ को उपविजेता तथा बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरको यात्रा तय गरेका थिए । समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग वर्षाका कारण अंक बाँडेको थियो । त्यस्तै सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपालले श्रीलंकासँग अंक बाँड्नुपरेको थियो ।


