काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ ।
स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यसै अवसरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ ।
आजदेखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पूजा आराधना सुरु गर्दै छन् । धेरैजसो महिलाले यो व्रत बस्ने गर्छन् ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घय दिइन्छ ।
आफू बसेको स्थानकी देवी देवताको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ ।
.jpg)


