काठमाडौं । नागरिक लगानी कोषको ३० औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस स्वीकृत गरेको हो ।
त्यसैगरी आ.व २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित भएको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको हो ।
सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.थापाले कोषको कार्यक्रमहरूको थप प्रवद्र्धन गरी स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई कोषको कार्यक्रममा समावेश गर्दै लगिने बताए । उनले कोषले पुँजी बजारमा समेत नेतृत्वदायी भूमिका खेलिरहेकोमा सो कार्य आगामी दिनमा थप प्रभावकारी ढंगले बढाइने जानकारी दिए।
संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) गरी मानव संसाधन विकासलाई प्राथमिकतामा राखिने समेत बताए । प्रा.डा.थापाले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानी व्यवस्थापन प्रभावकारी रूपमा बढाइरहेको धारणा राखे।
साधारणसभामा सेयरधनीहरुबाट उठाइएका जिज्ञाशाहरुको बारेमा अध्यक्ष प्रा.डा.थापा र कोषका कार्यकारी निर्देशकले जवाफ दिए।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको वस्तुस्थिति बारे बताउँदै सेयरधनीहरुबाट उठाइएका जिज्ञासा तथा सुझावहरूको बारेमा विस्तृत रुपमा जानकारी गराए । उनले कोषले सूचना प्रविधिलाई थप चुस्त बनाउनेतर्फ काम गरिरहेको बताउँदै कृत्रिम बौद्धिकता (ए.आई) को प्रयोग सम्बन्धमा सम्भाव्यता अध्ययन गरिरहेको बताए ।
हाल आर्थिक तथा वित्तीय क्षेत्रमा शिथिलता देखिएको अवस्थामा समेत कोषले सेयरधनीलाई तुलनात्मक रूपमा राम्रो लाभांस दिन कोष सफल भएको कार्यकारी निर्देशक कार्कीले बताए ।
साधारणसभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०÷८१ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेको छ ।


