काठमाडौं । त्रिकोणात्मक महिला टी–२० क्रिकेट सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ ।
बिहिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको हो ।
नेदरल्याण्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन बनाउन सक्यो ।
नेपालका लागि ओपनर सीता राना मगरले २८ रन बनाउँदा कविता जोशीले २७ रन बनाइन् । पूजा महतोले १४ बलमा २ चौका र २ छक्कासहित २४ रन जोडिन् ।
कप्तान इन्दु बर्मा ७ रनमै आउट हुँदा कविता कुँवरले ८ र रुबिना क्षेत्रीले ११ रन बनाइन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।
नेदरल्याण्ड्सका रोबिन राइकेले अर्धशतकीय पारी खेलिन् । उनले ४८ बलमा ८ चौका प्रहार गर्दै ५९ रन जोडिन् ।
ओपनर फेबे मोल्केनबोयर शून्यमा आउट हुँदा स्टेरे कालिस र कप्तान बाबेट डे लीडेले क्रिज सम्हालेका थिए । कालिसले २९ रन बनाउँदा लीडेले ६ रनमै आउट भइन् ।
हेदर सिगर्सले २३ रन जोड्दा आइरिस जुइलिङ ३१ रनमा अविजित रहिन् ।
नेपालका लागि ईश्वरी विष्ट, सीता राना मगर, कविता कुँवर र पूजा महतोले एक÷एक विकेट लिइन् ।
अब शुक्रबार थाईल्याण्ड र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।


