असोज २५ काठमाडौं । अघिल्ला दुई खेलमा सहज जित निकालेको नेपालले साफ च्याम्पियनसिप फुटबलको आफ्नो तेस्रो खेलमा भने भारतसँग पराजित भएको छ ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको तेस्रो खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो ।
७ पटकको च्याम्पियन भारतको जितमा कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । क्षेत्रीले खेलको ८३ मिनेटमा गोल गरेका थिए । फारुख चौधरीको पासमा क्षेत्रीले गोल गरेका हुन् ।
उक्त जितसँगै भारत उपाधि होडमा यथावत रहेको छ । यदि नेपालविरुद्धको बराबर तथा हारले भारत प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको थियो ।
भारतविरुद्ध नेपालले रक्षात्मक खेल खेल्दै काउण्टरमा ध्यान दिएको थियो । पहिलो हाफमा भारतले नेपाललाई पुर्ण रुपमा दबाबमा राखेपनि गोल भने गर्न सकेको थिएन । दोस्रो हाफमा समेत दबाब बनाएको भारत गोल गर्न सफल रहेको थियो ।
नेपाल भारतलाई पराजित गर्दै पहिलो पटक साफ फाइनलमा पुग्ने दाउमा थियो । हारसँगै नेपालले अन्तिम खेलमा बंगलादेशसँग फाइनल प्रवेशका लागि खेल्नेछ । जुन खेल नेपालको लागि निनकै महत्वपूर्ण हुनेछ । जितले नेपाल फाइनल पुग्नेछ भने हारले प्रतियोगिताबाट बाहिरिनेछ ।
साफमा पहिलो हारसँगै नेपालको ३ खेलबाट ६ अंक रहेको छ । नेपाल अंक बराबर भएपनि दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा माल्दिभ्स छ । यस्तै प्रतियोगितामा पहिलो जित निकालेको भारत ३ खेलबाट ५ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बाकी रहँदा भारतको समेत फाइनल पुग्ने सम्भावना बाकी रहेको छ ।


