काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाली टिमले लगातार तेस्रो हार बेहोरेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्ससँग १५ रनको हार बेहोरेको हो । नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रनमात्र बनाउन सक्यो ।
नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् भने ओपनर सम्झना खड्काले २५ बलमा चार चौकासहित २३ रन थपिन् । यस्तै, पूजा महतोले १८ रन बनाउँदा कविता जोशीले १४ र सीता रानामगरले १० रन जोडे ।
नेदरल्यान्ड्सकी एरिस ज्विलिङ, हिथर साइगेर्स र क्यारोलिन डे लिंगेले समान दुई विकेट लिइन् । यस्तै, इभा लिंक र इसाबेल भान डेर वोनिङले एक–एक विकेट लिइन् ।
त्यसअघि, टस जितेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।
नेपालकी सीता रानामगरले ५ विकेट लिइन् भने मनिषा उपाध्यायले २ विकेट लिँदा कप्तान इन्दु वर्मा र कविता जोशीले समान एक विकेट हात पारे ।
नेपालले अब मंगलबार थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ ।


