काठमाडौं । त्रिकोणात्मक महिला टी–२० क्रिकेट सिरिजमा नेपाल लगातार पाँचौं खेलमा पराजित भएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको हो । नेदरल्याण्ड्सको भने यो तेस्रो जित हो ।
नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गरेको हो ।
नेदरल्याण्ड्सका लागि स्टेरे कालिस ९८ र फिबे मोल्केनबोअर ४८ रनमा अविजित रहिन् ।
यसअघि नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।
नेपालका लागि पूजा महतोले अर्धशतकीय पारी खेलिन् । पूजा ५१ बलमा ५ चौका प्रहार गर्दै ६२ रनमा अविजित रहिन् ।
इन्दु बर्माले ३९ रन बनाउँदा रुबिना क्षेत्रीले २० रन बनाइन् भने कविता जोशी ७ रनमा अविजित रहिन् ।
नेदरल्याण्ड्सका लागि आइरिस ज्विलिङले २ तथा हेदर सिगर्स र क्यारोलिन डे लाङ्गेले १–१ विकेट लिइन् ।


