एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप तथा युरोपियन छनोटमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा पोर्चुगलले लग्सम्बर्गमाथि फराकिलो जित निकालेको छ ।
मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले लग्सम्बर्गमाथि ५-० को जित निकालेको हो । रोनाल्डोले ह्याट्रिक गर्दा ब्रुनो फर्नाण्डेज र जोआओ पाल्हिन्होले एक एक गोल गरे ।
खेलको आठौं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । १३औं मिनेटमा पोर्चुगलले अर्को पेनाल्टी पायो । जसलाई रोनाल्डोले नै गोल गरेर २-० को अग्रता दिलाए । त्यस्तै खेलको १७औं मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगलाई ३-० को अग्रता दिए ।
पहिलो हाफमा ३-० गोललको अग्रता बनाएको पोर्चुगलले ६९औं मिनेटमा जाओओको गोलमा चौथो गोल गर्यो । ८७औं मिनेटमा रोनाल्डोले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक तथा टोलीको लागि पाचौं गोल गरे ।
रोनाल्डोको यो करियरको ५८औं ह्याट्रिक हो । उनले करियरमा म्यानचेस्टर युनाइटेडबाट एक पटक, रियल मड्रिडबाट ४४ पटक, युभेन्टसबाट ३ पटक र पोर्चुगलबाट १० पटक ह्याट्रिक गरेका छन् ।
उक्त जितपछि पोर्चुगलले विश्वकपमा स्थान बनाउने उच्च सम्भावना राखेको छ । उसको ६ खेलमा १६ अंक भएको छ । सोही समूहको अर्को खेलमा सर्वियाले अजरबैजानलाई ३-१ गोलले हरायो । यो जितपछि सर्विया पोर्चुगललाई पछि पार्दे शीर्ष स्थानमा उक्लन सफल भयो ।


