असोज २८ काठमाडौं । माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमम भारत फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा भारतले माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
भारतलाई सहज जित दिलाउन कप्तान सुनिल क्षेत्रीको दुई गोल गरे भने मनवीर सिंहले एक गोल थप्यो । माल्दिभ्सका लागि अलि अश्फाकले गरेको गोल सान्तवना बन्यो ।
खेलको ३३ औं मिनेटमा सिंहले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा अश्फाकले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि खेलको ६२ औं मिनेटमा कप्तान सुनिलले गोल गर्दै भारतलाई २-१ गोलको । ७१ औं मिनेटमा सुनिलले नै गोल गर्दै भारतलाई ३-१ को सहज जित दिलाए ।
उक्त जितसँगै भारत प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको हो । भारतले ४ खेलमा २ जित र २ बराबरसहित ८ अंक जोड्यो ।
यसअघि नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनलमा स्थान पक्का गरेको छ । प्रतियोगिताको इतिहासमा नै नेपाल पहिलो पटक फाइनल पुगेको हो । त्यस्तै नेपाल भारतबीच २८ बर्षपछि उपाधि लागि प्रतिस्पर्धा गर्ने भएको छन् ।
हाल दक्षिण एसियाली खेलकुद (साग) का नामले परिचित तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) को छैटौं संस्करणमा नेपाल र भारतले फाइनल खेलेका थिए । सन् १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपाल र भारतबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा नेपाल टाइब्रेकरमा ४–३ ले विजयी भएको थियो ।


