कात्तिक १ काठमाडौं । नेपाली फुटबल टोलीका महत्वपूर्ण सदस्य रोहित चन्द माल्दिभ्सबाटै इन्डोनेसिया प्रस्थान गरेका छन् ।
उनले सामाजिक सञ्जालबाट इन्डोनेसिया प्रस्थान गरेको जनाएका छन् । रोहित इन्डोनेसियामा जकार्ता पर्सिजाबाट ब्यावसायिक फुटबल खेल्दै आएका छन्। इन्डोनेसियाको अहिले शीर्ष डिभिजनको लिग चलिरहेको छ ।
रोहितले साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सफल भए पनि सुनौलो इतिहास रच्न चुकेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समस्त फुटबलप्रेमी नेपालीहरुको माया र हौसलासहित साफ च्याम्पियनसिप को फाइनल सम्मको यात्रा तय गर्न सफल भयौं तर इतिहास रच्ने सुनौलो अवसर बाट चुक्यौँ । राष्ट्रिय टोलीको सदस्यको रुपमा सगौरव देशप्रतिको जिम्मेवारी पूरा गरी क्लब पर्सिजाको जिम्मेवारी पूरा गर्न मालदिभ्सबाट इन्डोनेसिया प्रस्थान गर्दैछु। मलाई अनि सम्पूर्ण नेपाली टिमलाई माया गर्नु हुने सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’
नेपालका लागि सर्वाधिक खेल्ने दोस्रो खेलाडी बनेका छन् रोहित । साफ च्याम्पियनसिपको फाइनलमा भारतविरुद्धको खेलसँगै रोहित सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडी बनेका हुन् । रोहितले पूर्वकप्तान विराज महर्जनलाई उछिन्दै सर्वाधिक क्याप जित्ने दोस्रो खेलाडी बनेका हुन् ।


