एजेन्सी । इंग्ल्यान्डको राष्ट्रिय फुटबल टोलीलाई युरोपियन फुटबल एसोसियसन (युइएफए)ले कारवाही गरेको छ । युरो २०२० को फाइनलका दौरान वेम्बली स्टेडियमा भएको हिंसाको सजायस्वरुप इंग्ल्यान्डले आफ्नो एक खेल दर्शनबिना खेल्नुपर्ने भएको छ ।
इंग्ल्यान्ड फुटबल संघलाई १ लाख युरोसमेत जरिवाना गरिएको छ । इंग्ल्यान्ड फुटबल संघले यूईएफएको यो निर्णयबाट दुःखी भए पनि यसलाई स्वीकार्ने जनाएको छ ।
गत जुलाई ११ मा वेम्बलीमा भएको युरोको फाइनल खेलमा इंग्ल्यान्ड इटालीसँग पेनाल्टीमा पराजित भएपछि समर्थकहरु र सुरक्षाकर्मीबीच झडप भएको थियो । उक्त फाइनल खेलमा इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको थियो ।सयौं समर्थकहरु वेम्बलीमा बिना टिकट प्रवेश गरेर खेलाडीको परिवारको लागि सुरक्षित गरिएको स्थानमा गएर बसेका थिए । सो घटनालाई लिएर प्रहरीले ५१ जनालाई पक्राउ गरेको थियो ।
युरो अन्तर्गत नै डेनमार्कविरुद्धको सेमिफाइनलमा भिडभाडको समस्या भएको भन्दै इंग्ल्यान्डलाई २५ हजार पाउण्ड जरिवाना गरिएको थियो ।
इंग्ल्यान्डलाई विश्वकप छनोट अन्तर्गत नेभेम्बर १३ मा घरेलु मैदान वेम्बली स्टेडियममा अल्बानीयाको समना गर्दैछ । यो खेल विना दर्शन हुनेछ ।


