काठमाडौं । ललितपुर जिल्लामा अवस्थित गोदावरी नगरपालिका काठमाडौं उपत्यकाको एक महत्वपूर्ण स्थानीय तह हो, जुन प्राकृतिक सौन्दर्य, जैविक विविधता, धार्मिक महत्व र तीव्र शहरी विकासको प्रतीक बनेको छ। यस नगरपालिकाको नाम प्रसिद्ध गोदावरीधामसँग सम्बन्धित छ ।
गोदावरी नगरपालिका ललितपुर जिल्लाको दक्षिण-पूर्वी भागमा पर्छ। यसले ग्रामीण र शहरी विशेषता समेटेको छ। नगरको दक्षिणी सिमाना महाभारत पर्वतशृंखलातर्फ फैलिएको हुँदा यहाँ हरियाली जंगलहरू, जडीबुटी र वन्यजन्तुको उपस्थिति प्रशस्त पाइन्छ। २०७३ सालमा सरकारले ल्याएको नयाँ संरचनाअनुसार विभिन्न गाविसहरू गाभेर गोदावरी नगरपालिका स्थापना गरिएको हो। हाल यस नगरपालिकामा १४ वटा वडाहरू छन्।
यस क्षेत्रमा प्रत्येक १२ वर्षमा गोदावरी मेला आयोजना गरिन्छ । यो मेला विशेषगरी हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्त पवित्र मानिन्छ। मेलामा देशका विभिन्न भागबाट हजारौँ भक्तजनहरू उपस्थित भई भगवान विष्णु, शिव लगायतका देवताको पूजा अर्चना गर्दछन्। यस मेलाको दौरान विविध जात्रा, सांस्कृतिक कार्यक्रम र धार्मिक अनुष्ठानहरू गरिन्छ, जसले स्थानीय संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने काम गर्छ। गोदावरी मेला सामाजिक एकता र धार्मिक समर्पणको अभिव्यक्ति हो र यसले यहाँको सांस्कृतिक पहिचानलाई अझ बलियो बनाएको छ।
नेपालकै पुरानो र समृद्ध वनस्पतिक उद्यान गोदावरी बोटानिकल गार्डेन यहाँको अर्का महत्वपूर्ण बिशेषता हो , जुन अध्ययन, अनुसन्धान र पर्यटनको दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यस नगरपालिकामा गोदावरीधाम, विष्णुमती जस्ता धार्मिक स्थलहरू रहेका छन्, जहाँ विविध मेला, जात्रा र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरी परम्परागत जीवनशैलीलाई जोगाइराखिएको छ।
शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा पनि क्रमिक सुधार हुँदै गएको छ यहाँ विभिन्न निजी तथा सरकारी विद्यालयहरू सञ्चालनमा छन् भने आधारभूत स्वास्थ्य सेवा विस्तारमा स्थानीय सरकार लागि परेको छ। साथै, कृषि योग्य जमिन प्रशस्त भएको यस क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगमार्फत व्यवसायिक कृषि विस्तार भइसकेको छ, जसले स्थानीय रोजगारी र आर्थिक विकासमा सहयोग पुर्याइरहेको छ।
यी सबै पक्षहरू मिलेर गोदावरी नगरपालिकालाई भविष्यमा समुन्नत, हरित र आत्मनिर्भर स्थानीय तहका रूपमा अगाडि बढ्न सहयोग गरिरहेका छन्।
यद्यपि गोदावरी नगरपालिका तीव्र विकासको बाटोमा छ, तर शहरीकरणसँगै फोहर व्यवस्थापन, ट्राफिक जाम, भू९क्षय र जल स्रोत संरक्षण जस्ता चुनौतीहरू पनि बढिरहेका छन्। यी चुनौतीहरूलाई दीर्घकालीन योजनाबाट सम्बोधन गर्न सकेमा गोदावरी नगरपालिका देशकै नमुना नगरपालिका बन्ने सम्भावना छ ।
.jpg)


