एजेन्सी । युरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा डच क्लब आयाक्सले जर्मन क्लब बेरुसिया डर्टमन्डमाथि ४–० को सानदार जित दर्ता गरेको छ ।
आयाक्सको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीको जितमा डेली ब्लाइन्ड, एन्टोनी, सेबास्टियन हलेरले १/१ गोल गरे भने अर्कोको आयाक्सले उपहार पाएको थियो । खेलको ११औं मिनेटमा मार्को रिउसको आत्मघाती गोलबाट घरेलु टोली आयाक्सले सुरुवाती अग्रता लिएको थियो ।
२५औं मिनेटमा डेली ब्लाइन्डले गोल गर्दै आयाक्सको अग्रता दोब्बर बनाए । ५७औं मिनेटमा एन्टोनीले गोल गरेपछि आयाक्स ३–० ले अघि बढ्यो । ७२औं मिनेटमा सेबास्टियन हलेरले गोल गर्दै आयाक्सलाई ४–०को सहज जित दिलाए ।
उक्त जितसँगै लगातार तेस्रो जित निकालेको आयाक्स ९ अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा कायम रहँदा डर्टमन्ड ६ अंकका साथ दोस्रो स्थानमा छ । यही समूहको अर्को खेलमा स्पोर्टिङ सिपीले बेसिकटासमाथि ४–१ को सहज जित दर्ता गरेको छ ।


