काठमाडौं । काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा यस वर्षको कुशे औंसी अर्थात पितृऔँसीका अवसरमा लाग्ने मेलालाई भब्य र व्यवस्थित बनाउनेगरी तयारी गरिएको छ । भक्तजनलाई सहज र सुरक्षित वातावरणमा श्राद्ध गर्नेगरी वातावरण मिलाइएको व्यवस्थापन समितिको दाबी छ ।
गोकर्णेश्वर नगरपालिका–४ भित्र पर्ने मन्दिर क्षेत्रमा गोकर्णेश्वर महादेव क्षेत्र व्यवस्थापन समितिले शान्ति सुरक्षा, यातायात, फोहोर व्यवस्थापन, खोजतलास र आर्थिक व्यवस्थापनजस्ता उपसमितिहरू गठन गरी विगत १५ दिनदेखि निरन्तर तयारी गरिरहेको उक्त वडाका अध्यक्ष जयराम महतले जानकारी दिएका छन् ।
उनले भने, ‘मन्दिर गोकर्ण नगरपालिका वडा नम्बर ४ भित्र पर्छ । हामीले लगभग १५ दिन अगाडिदेखि नै तयारी गरिरहेका थियौं । विभिन्न चरणमा बैठकहरू बस्ने, संघसंस्थालाई बोलाएर जिम्मेवारी तोक्ने कामहरु गरेका थियौं । यसपाली दुई दिन औँसी परेकाले भक्तजनहरुको उल्लेख्य सहभागिता रहनेभएकाले पनि तयारीलाई भब्य बनाएका हौं ।’
यस्तै, उनले नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्काउट, ग्रीन आर्मी, विभिन्न संघसंस्था र स्थानीय युवाको सक्रियतासहित भक्तजनलाई सहज सेवासुविधा उपलब्ध गराउन खटाइएको पनि बताए ।
साथै, यात्रु खोजतलास समिति पनि गठन गरिएको उनले जानकारी दिए । भक्तजनलाई सुरक्षित रूपमा श्राद्ध सम्पन्न गर्न यातायात र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको उनले बताए ।
ट्राफिक एवम यातायात व्यवस्थापन, फोहोर व्यवस्थापन समितिहरू खडा गरेरै काम अघि बढाएको पनि उनले जानकारी दिए ।
.jpg)


