कात्तिक ४ काठमाडौं । झापाको कनकाई नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट खेलमा ललितपुरको गोदावरी नगरपालिकाविरुद्ध एक दर्जन गोलसहित विजयी सुरुवात गरेको छ ।
बिहीबार सुरु भएको प्रतियोगिताको दोस्रो खेलमा कनकाई नगरपालिकाले गोदावरी नगरपालिकालाई १२–० गोल अन्तरले पराजित गरेको हो । कनकाईको जितमा कुशुम खतिवडाले ह्याट्रिकसहित ६ गोल गरिन् भने कप्तान लक्ष्मी श्रेष्ठले पनि ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै इमा राई र मनिता तुम्रुकले एक/एक गोल गरे ।
राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमासमेत परेकी युवा स्ट्राइकर कुशुमले खेलको १९, ६०, ७२, ८०, ८५ र ९० मिनेट तथा थपिएको १ मिनेटमा गोल गरिन् ।
यता, कप्तान लक्ष्मीले खेलको १६, २५, ४५ मिनेट पछि थपिएको १ मिनेट र ४८ मिनेटमा गोल गरिन् । यस्तै मनिताले ५६ मिनेटमा गोल गर्दा इमाले ६३ मिनेटमा गोल गरेकी थिइन् । खेलको प्लेयर अफ दि म्याच कन्काईकी दिपा शाही घोषित भइन् ।
उक्त जितसँगै समूह ए मा कनकाईले महत्वपूर्ण तीन अंक जोड्दै शीर्षस्थानमा रहेको छ । समान तीन अंक भए पनि कनकाईले सर्लाहीको बागमती नगरपालिकालाई गोल अन्तरमा पछि पारेको हो ।
आज नै भएको प्रतियोगिताको उद्घाटन खेलमा बागमतीले ललितपुरको महालक्ष्मी नगरपालिकालाई ९–० गोल अन्तरले पराजित गरेको थियो ।


