काठमाडौँ । आईसीसी विश्वकपको तयारीलाई तीव्र बनाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दोस्रो वार्मअप खेल खेल्दैछ ।
बिहिबार दिउँसो १:१५ बजे चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा हुने यस खेलमा नेपालले क्यानडाको सामाना गर्दै छ ।
नेपालले यसअघि पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो । त्यस्तै क्यानडा भने इटालीसँगको वार्मअप खेल १० रनले हारेको थियो ।
विश्वकप खेल्ने नेपाली टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन्।
नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। नेपाल विश्वकपको समूह ‘सी’ मा रहेको छ, जहाँ दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्।
नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। समूह चरणका सबै खेल नेपालले मुम्बईमा खेल्नेछ ।
नेपाली टोलीका सबै खेलका टिकट बिक्री भइसकेको छ भने यससँगै भारतीय मैदानमा नेपाली समर्थकको बाक्लो उपस्थिति र उत्साह देखिनेछ ।
नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो। यो तेस्रो विश्वकप सहभागितालाई नेपाली क्रिकेटको निरन्तर प्रगतिका रूपमा हेरिएको छ।


