काठमाडौँ । जारी टी–२० विश्वकपको उपाधिका लागि आज भारत र न्युजील्यान्डबीच फाइनल प्रतिस्पर्धा हुँदैछ । खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा नेपाली समयअनुसार साँझ ७ः१५ बजेदेखि सुरु हुनेछ ।
उपाधिबाट दुवै टोली एक कदम मात्र टाढा रहेकाले फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ । प्रतियोगिताभर भारतको ब्याटिङ पक्ष निकै बलियो देखिएको छ भने न्युजील्यान्डका बलरहरूले पनि प्रभावशाली प्रदर्शन गर्दै आएका छन् ।
भारतका लागि सञ्जु सामसन र इशान किशन उत्कृष्ट लयमा रहेका छन्, जसले फाइनल खेलमा पनि टोलीलाई बलियो आधार दिने अपेक्षा गरिएको छ ।
न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ । टी–२० विश्वकपमा न्युजिल्यान्ड दोस्रो पटक फाइनल खेल्दै छ ।
यसैगरी, भारत तीन पटक टी–२० विश्वकप जित्ने तथा च्याम्पियन बन्ने पहिलो आयोजक हुने दाउमा रहेको छ ।
फाइनल हेर्न एक लाखभन्दा बढी समर्थक उपस्थित हुने छन् । तीमध्ये अधिकांश घरेलु टोली भारतको समर्थनमा रहने छ ।


