एजेन्सी । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित हुँदा रोमा र इन्टर मिलन भने विजयी भएका छन् ।
बुधबार राति भएको खेलमा युभेन्ट्स सासोउलोसँग २-१ गोलले पराजित भएको हो । यता रोमाले कागलियरीलाई पराजित गर्यो भने इन्टर मिलनले १० खेलाडीमा सीमित इम्पोलीलाई पराजित गरेको हो ।
घरेलु मैदान टुरिनमा युभेन्ट्स सासोउलोसँग २-१ गोल अन्तरले पराजित भएको हो । खेलको ४४औं मिनेटमा डाभिड फ्राटेस्सीले गोल गर्दै सासोउलोलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ७६औं मिनेटमा वेस्टन म्याकेन्नीले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको इन्जुरी समयमा म्याक्सिम लोपेजले गोल गर्दै सासोउलोलाई २-१ को जित दिलाए ।
उक्त जितसँगै सासोउलोले १० खेलमा १४ अंक जोडेको छ । सासोउलो नवौं स्थानमा छ । पराजित युभेन्ट्सले १० खेलमा १५ अंक जोड्दै सातौ स्थानमा छ ।
अर्को खेलमा इन्टरले भने डानिलो र फेडेरिको मिमार्कोको गोलमा इम्पोलीलाई २-० गोल अन्तरले पराजित गरेको छ । उक्त जितसँगै इन्टर १० खेलबाट २१ अंक सहित तेस्रो स्थानमा छ ।
रोमाले एक गोलले पछि परको स्थिति उल्टाउँदै रोगर इबानेज र रोलेन्जो पेलग्रिनीको गोलमा कागलियरीलाई २-१ गोल अन्तरले पराजित गर्यो । घरेलु टोली कागलियरीको लागि लिओनार्दो पाभालिटोले खेलको ५२औं मिनेटमा अग्रता दिलाएका थिए । उक्त जितसँगै रोमा १९ अंकका साथ चौथो स्थानमा छ ।
बुधबार राति नै भएका अन्य खेलमा लाजियोले फिओरेन्टिनालाई १-० गोल अन्तरले हरायो । एटलान्टाले सम्पाडोरियालाई ३-१ गोल अन्तर तथा उडिनेस र हेलास भेरोनाले १-१ को बराबरी खेले ।


